काठमाडौ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ।
विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै बजारमा देखिएको ग्यास अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणले दैनिक जीवनमा समस्या भोग्नुपरेको भन्दै सरकारले आपूर्ति व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बताएका थिए।
उनीहरूले बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने कार्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। विद्यार्थीहरूले ग्यासको आपूर्ति सहज बनाउन दीर्घकालीन योजना ल्याउनसमेत सरकारसँग माग गरेका छन्।
साथै, अभावको मौका छोपेर उपभोक्तामाथि हुने ठगी र कालोबजारी रोक्न प्रभावकारी अनुगमन तथा कारबाही गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।




प्रतिक्रिया