काठमाडाैँ । कास्य युगका युरोपेली मानिसहरू ज्यादातर साधारण बाक्लो सुप र रोटीमै निर्भर थिए भने सिरियाका मानिसहरू पहिले नै विभिन्न सामग्री आयात गरेर र फरक तापक्रमका भाँडा प्रयोग गरेर ‘परिष्कृत’ खाना पकाउने र खाने गरेको अनुसन्धानकर्ताहरूले शुक्रबार सार्वजनिक गरेका छन्।
डेनिश विशेषज्ञहरूको प्रमाणअनुसार आजभन्दा करिब ४५०० वर्षअघि अहिलेको हामा शहरमा बस्ने मानिसहरू खसी, बाख्रा, हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे।
सिरियाली शहरका भान्सेहरूले हामीले आजभोली ढालेको फलाम वा नन–स्टिक फ्राइङ प्यान रोजेजस्तै खानाको प्रकारअनुसार फरक तताउने गुण भएका भाँडा प्रयोग गर्थे।
कोपनहेगनको राष्ट्रिय सङ्ग्रहालयकी मेट्टे मेरी हाल्ड र उहाँको टोलीले शहरमा भेटिएका पूराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड, बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर यो निष्कर्ष निकालेका हुन् ।
पुरातत्व तथा वनस्पतिशास्त्री हाल्डले एएफपीसँग भने, “ फरक–फरक भाँडा र फरक खानेकुराका लागि फरक भाँडा प्रयोग गर्ने तरिका अलि आधुनिक जस्तो लाग्छ तर यो त्यहाँ प्रयोग हुने गरेको दावी अध्ययनमा गरिएको छ ।”
स्थानीय रूपमा बनेका भाँडा माटो र क्याल्साइट (खनिज)बाट बनाइएका थिए भने केही माटोमा बेसाल्ट (ज्वालामुखिबाट निस्केका काला पथ्थर) मिसाएर चीनसम्मबाट आयात गरिएका थिए ।
खानामा धेरै पूर्वबाट ल्याइएका हरिणजस्ता आयातित सामग्री प्रयोग गरिन्थ्यो ।
हाल्डले भने, “हामामा भेटिएको ‘परिष्कृत खाना पकाउने’ प्रमाण धेरै पछिका समयमा लेखिएका खाना पकाउने (व्यन्जन) विधिहरूबाट पनि पुष्टि हुन्छ ।”
डेनमार्कका पुरातत्वविद्हरूले २० औँ शताब्दीको पहिलो आधामा नै हामामा उत्खनन सुरु गरेका थिए । त्यसैले त्यहाँको दैनिक जीवनबारे धेरै अनुसन्धान भइसकेको छ । तर खाना संस्कृतिमा भने पहिले खासै ध्यान दिइएको थिएन।
“यो राज्यहरू, राम्रोसँग सङ्गठित शहरहरू र तहगत समाजको युग हो,” उनले भने । “त्यस अर्थमा उनीहरूले परिष्कृत खाना पकाउन जान्दथे भन्ने कुरा अनौठो होइन। अनौठो कुरा के हो भने हामीले वास्तवमै प्रमाणित गर्न सक्यौँ।”




प्रतिक्रिया