प्रचण्ड भन्छन् -‘बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ’


जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन्।

सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा शुक्रबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक दाहालले विपद्का बेला मधेस र पहाडबिच देखिएको सहयोग, सद्भाव र एकता प्रशंसनीय रहेको बताए।

“अहिले पहाडका जनतालाई मधेसका जनताको साथ र सहयोग चाहिएको छ, त्यसका लागि मधेसका जनताले खुला हृदयले सहयोग गरिरहनुभएको छ”, उनले भने, “पहाडमा पीडा हुँदा मधेसले सहयोग गर्ने र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने हाम्रो परम्परा सकारात्मक छ ।” उनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मधेसबाट पठाइएको राहत तथा सहयोगले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको प्रभाव तीव्ररूपमा देखिन थालेको उल्लेख गर्दै संयोजक दाहालले भोटेकोशीमा आएको बाढीको कारण र त्यसबाट भएको क्षतिको वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए । उनले जलवायु परिवर्तनकै कारण नेपालमा यस्ता ठूला विपद् बढिरहेको दाबी गरे।

“हामीले केही वर्षदेखि जलवायु परिवर्तनको असर कस्तो परिरहेको छ भन्ने विषय उठाउँदै आएका छौँ”, उनले भने, “ठूला मुलुकहरूले अत्यधिक कार्बन उत्सर्जन गरेका कारण नेपालजस्ता साना मुलुकहरूले त्यसको प्रत्यक्ष असर भोगिरहेका छन् । यस विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्छ ।” रासस