काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन् ।
दाहालले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरूलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढङ्गले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गरे । विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ ।
उनले १० दिनपछि र ११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरै मानिसलाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने बताए । सरकारले विपद्का बेला नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको दाहालले टिप्पणी गरे।




प्रतिक्रिया