काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर नेपालमा लगानीको वातावरण जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्न नहुने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले पछिल्लो प्राकृतिक प्रलयका कारण जलविद्युत्सहित अन्य क्षेत्रमा लगानी निरुत्साहित हुने अवस्था सिर्जना गर्न नहुने धारणा राखे।
उनका अनुसार हजारौँ वर्षमा एकपटक मात्र हुने प्रकृतिका अत्यन्तै असाधारण घटनालाई आधार बनाएर आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै जाने हो भने नेपालका जलविद्युत् परियोजना आर्थिक रूपमा अव्यावहारिक बन्न सक्छन्।
“यो प्रलयका कारण नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैन,” घिसिङले भने, “असाधारण प्राकृतिक विपत्तिलाई आधार बनाएर लगानीको वातावरण नै जोखिमपूर्ण छ भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन।”
तर उनले प्राकृतिक जोखिमलाई बेवास्ता गरेर जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। आयोजनाको डिजाइन तथा निर्माणमा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई वैज्ञानिक रूपमा मूल्यांकन गर्दै पर्याप्त सुरक्षा मापदण्ड र उचित ‘सेफ्टी मार्जिन’ अनिवार्य रूपमा राखिनुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया