नदी किनारमा पुनः बस्ती नबसालौँ, सुरक्षित स्थानमा पुनर्स्थापना गरौँ : मुख्यमन्त्री थापा


भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदी किनारमा पुनः बस्ती बसाउन नहुने बताएका छन्।

शनिबार भक्तपुरको सूर्यविनायकमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले विपद्पछि गरिने पुनर्स्थापनालाई तत्कालीन आवश्यकता मात्र नभई दीर्घकालीन सुरक्षासँग जोडेर अघि बढाउनुपर्ने बताएका हुन्।

उनले भोटेकोशी र त्रिशूली नदीका दायाँ–बायाँ क्षेत्र अझै जोखिममा रहेकाले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए।

‘भोटेकोशी र त्रिशूली नदीका दायाँबायाँ अब बस्ती बसाल्नु उपयुक्त छैन। प्रभावित क्षेत्रका नागरिकका लागि उक्त क्षेत्र अझै जोखिमपूर्ण रहेको छ,’ उनले भने।

मुख्यमन्त्री थापाका अनुसार प्रभावित नागरिकका लागि सुरक्षित स्थानमा नयाँ बस्ती निर्माण गर्न स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले आवश्यक पूर्वाधारसहित बस्ती निर्माण गर्ने सहमति भएको छ। नुवाकोटमा विदुर नगरपालिकामार्फत जग्गा प्राप्त भइसकेको र रसुवाका लागि उपयुक्त स्थानको खोजी भइरहेको उनले जानकारी दिए।

थापाले आफूले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई प्राथमिकतामा राखेको बताए।