धनुषाका ३८५ परिवारले पाए लालपुर्जा


जनकपुर । धनुषाको सबैला नगरपालिका–८ का ३८५ परिवारले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि आफ्नो जग्गाको पुर्जा पाएका छन्।

नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी पुर्जा वितरण गरेको हो।

जग्गाको नापजाँच यसअघि नै सम्पन्न भए पनि दर्ता प्रक्रियाका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण रोकिएको थियो। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि वडा नम्बर ८ का ३८५ परिवारले लालपुर्जा प्राप्त गरेका हुन्।

जग्गाधनी पुर्जा प्राप्त भएसँगै ती परिवार आफ्नो बसोबास गर्दै आएको जग्गाको औपचारिक कानुनी स्वामित्वमा आएका छन्।

सबैला नगरपालिकाका अन्य वडामा पनि यसअघि जग्गाधनी पुर्जा वितरण भइसकेको छ। वडा नम्बर ४, ५, ६ र १० का गरी ३ हजार २२६ परिवारले यसअघि नै लालपुर्जा प्राप्त गरिसकेका छन्।