काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका लागि नयाँदिल्ली पुगेका चिनियाँ राष्ट्रपति सीसँग मोदीले शनिबार साँझ भेटवार्ता गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार भेटवार्तामा दुई नेताले अगस्ट २०२५ मा चीनको तियानजिनमा भएको पछिल्लो भेटपछि भारत–चीन द्विपक्षीय सम्बन्धमा भइरहेको निरन्तर प्रगतिबारे कुराकानी भएको छ ।
यस्तै, दुवै नेताले भारत र चीनले आफ्नो सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्नेमा सहमति जनाएका छन् ।
भारतको विदेश मन्त्रालयका अनुसार नेताहरूले दुई देशबीचका मतभेद विवादमा परिणत हुन नहुने साझा धारणा व्यक्त गरेका छन्
मोदीले दुई देशबीचको सम्बन्ध तीन ‘पारस्परिकता’– पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितबाट निर्देशित हुनुपर्ने बताएका छन् ।
यस्तै, उनले दुई देशबीचको सम्बन्धका लागि सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता कायम रहनु आवश्यक रहेको बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
मोदीले सीमा सम्बन्धी विषयमा यसअघि भएका सम्झौता र समझदारीलाई दुवै पक्षले पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
भेटवार्तामा दुवै नेताले दुई देशको समग्र द्विपक्षीय सम्बन्ध तथा दुवै देशका जनताको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सीमा विवादको न्यायोचित, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार आएका छन् ।
भेटमा चिनियाँ राष्ट्रपति सीले भारतसँगको सम्बन्धलाई चीनले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन हितका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
सीले ब्रिक्स सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई थप बलियो बनाउन चीन र भारतले मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।




प्रतिक्रिया