चिनियाँ राष्ट्रपति सी फर्किए बेइजिङ


नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । सम्मेलनको दोस्रो दिनको खुला सत्रमा सहभागी भएपछि उनी बिहान करिब १२ः०० (नेपाली समय) बजे नयाँ दिल्लीबाट चीनको राजधानी बेइजिङका लागि प्रस्थान गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, सीको भारत भ्रमण औपचारिक रूपमा सम्पन्न भएको छ । भ्रमणका क्रममा उनले ब्रिक्स सम्मेलनमा सहभागिता जनाउनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सम्मेलनमा सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रधानमन्त्री मोदीसँगै समूह तस्बिरमा देखिएका थिए ।

सीको भ्रमणका क्रममा भारत–चीन सम्बन्ध सुधार, सीमा क्षेत्रमा शान्ति तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो । पछिल्लो समय दुई देशबिचको सम्बन्धमा सुधार ल्याउने प्रयास भइरहेका बेला भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यद्यपि, सीमा विवादलगायतका विषयमा दुई देशबिच अझै चुनौतीहरू कायम छन् । एजेन्सी