प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति


म्याग्दी, ३० भदौ । म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेका चार र २०८१/८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् ।

विभिन्न निर्माण कम्पनीसँग रु ३८ करोडमा ठेक्का सम्झौता भएका ती आयोजनामार्फत १८ किलोमिटर सडक स्तरोन्नति भएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए । उनका अनुसार बेनी–तोरीपानी हुँदै पाखापानी, दरवाङ–मुना–ढोरपाटन सडक, पखेर–बरङ्जा सडक, बगरफाँट–दूधेखोला–भकिम्ली र गलेश्वर–जगन्नाथ सडक योजना निर्धारित समयमा सम्पन्न भएका हुन् ।

कार्यालयका अनुसार आव २०८०/८१ मा सम्झौता भएका दरवाङ–बिम–दिच्याम, अदिभारा–डाडागाँउ–सोले–लामेला तमान, चित्रे–घोडेपानी सडक, शिवरात्रिखोला र दरखोला मोटरेबल पुल निर्माणाधीन छन् ।

स्तरोन्नति भएपछि बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै ढुवानी, आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । कच्ची साँघुरो, ग्रेड र मोड नमिलेका सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कम भएको छ । यसअघि ३.५ मिटर चौडा सडकलाई प्रदेश सरकारको मापदण्डअनुसार कम्तीमा सात मिटर फराकिलो बनाइएको कार्यालयका सवइन्जिनियर घनश्याम रोकाले बताए ।

बेनी–तोरीपानी हुँदै पाखापानी सडक

मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक आयोजनामार्फत बेनी नगरपालिका–९ भुतदैला–नेप्टेचौर–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा स्तरोन्नति भएको छ । सो आयोजनामार्फत एक किलोमिटर ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र, ५५० मिटरमा ढलान र दुई किलोमिटर ग्राभेल भएको छ ।

मार्ग खुुलेको करिब २५ वर्षपछि स्तरोन्नति भएको यस सडक आयोजनाबाट बेनी नगरपालिका–९, १०, रघुुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् । म्याग्दीको प्राथमिकताप्राप्त बेनी–तोरीपानी हुँदै पाखापानी सडक चालु आव २०८३/८४ मा भने बजेटविहीन भएको रघुगङ्गा–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले गुनासो गरे ।

दरवाङ–मुना–ढोरपाटन सडक

रामसागर विके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको दरवाङ– मुना–ढोरपाटन सडक योजनामार्फत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति भएको छ ।

सो योजनाअन्तर्गत ताकम र शिवाङ खण्डमा ९०० मिटर प्रिमिक्स प्रविधिको कालोपत्र भएको छ । गौथली भिरलगायतका स्थानमा एक हजार ७०० मिटर ढलान गरिएको छ । आठ मिटरका दरले सडक फराकिलो पारिएको सडकमा नाली र टेवा पर्खाल निर्माण भएको छ ।

यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । हाल ग्राभेलमात्र भएको तीन किलोमिटरभन्दा बढी दूरीको सडकलाई पनि कालोपत्र गर्न पहल गरिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए ।

“मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो”, उनले भने, “बजेटको कमीका कारणले कालोपत्र हुन नसकेको ठाउँका सडकलाई कालोपत्र गराउन र बर्खायाममा बिग्रिएको ठाउँमा मर्मतका लागि प्रदेश सरकारसँग पहल भएको छ ।”

धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी– ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत दरवाङ–धारापानी र मच्छिम–मुना खण्डमा स्तरोन्नतिका लागि सञ्चालित अर्को आयोजनाको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

पखेर–बरङ्जा सडक

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत गत आवमा सम्पन्न पखेर–बरङ्जा ३ र ४ हुँदै महेश–धापुङ–ताराखोला सडक योजनामार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि आलडाँडा खण्ड स्तरोन्नति भएको छ ।

रु पाँच करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एनके–युनाइटेड जेभीले तीन किलोमिटर दूरीमा ग्राभेल तथा घुम्ती र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो । मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले म्याग्दीको सदरमुकाम बेनी आवतजावतका लागि यो सडक प्रयोग गर्छन् । बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकामा सडक स्तरोन्नति भएपछि यात्राअवधि ३० मिनेटमा छोटिएको स्थानीयवासी मिलन रोकाले बताए ।

हाडेभिर–बगरफाँट–दुधेखोला–हल्लेगौडा सडक

बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला हुँदै हल्लेगौडा जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । माछापुच्छ्रे हिमालयन जेभीले रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको योजनामार्फत बगरफाँट–कोप्रे–दूधेखोला खण्डलाई फराकिलो, घुम्ती तथा मोड, ग्रेड सुधार, नाली र टेवा पर्खाल निर्माण गरेर स्तरोन्नति गरिएको हो ।

विस २०६४ मा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली, पर्खाल र ग्राभेल भएपछि स्थानीयवासीलाई सुविधा पुगेको बेनी नगरपालिका–२ बगरफाँटका चन्द्रबहादुर घिमिरेले बताए । हल्लेगौडा क्षेत्रमा ३९० मिटर ढलान भएको छ ।

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नं ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ ।

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक

बिबीपीएलबिएस डिएस धवलागिरिले रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनामार्फत बेनी नगरपालिका–९ गलेश्वरदेखि काउलेगौडा हँुदै कोशेपानी खण्डमा ३०० मिटर ढलान र एक हजार १०० मिटर दूरी सडकलाई फराकिलो बनाइ घुम्ती तथा ग्रेड सुधार, पर्खाल र नाली निर्माण भएको छ ।

यसअघि चार मिटर फराकिलो सडकलाई हाल सात मिटर चौडा बनाइएको छ । म्याग्दी हँुदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइ लम्ब्याउने र स्थानीयवासीको सहजताका लागि गलेश्वरदेखि पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नतिको काम थालिएको हो ।

गलेश्वर हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको भनाइ छ । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।