प्रतिनिधिसभाः विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न सांसदहरूको माग


काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् ।

सांसद युवराज दुलालले अन्तर्राष्ट्रिय कूटनीति र राष्ट्रिय एकता कायम गर्दै विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको काम अघि बढाउन सरकारसँग माग गरे । रसुवागढी नाका भोटेकोशी बाढीका कारण प्रभावित भएपछि चीनसँगको व्यापारिक आवागमन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्ने उनले बताए ।

“भोटेकोशी बाढीले सामान बगाएपछि व्यापारीको ठूलो क्षति भएको छ । महँगी बढेको छ, खाना पकाउने ग्यासको अभाव छ । महँगीको मार गरिबको चुलोमा परेको छ”, सांसद दुलालले भने, “आपूर्ति सहज बनाउन तातोपानी नाका खोल्न सरकारले आवश्यक कूटनीतिक पहल गर्नुपर्नुपर्छ ।”

सांसद आर्यन राईले भोटेकोशीको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार कार्यमा ढिलाइ हुँदा मानवीय क्षति बढेको बताए । उनले हाँकुबेँसी क्षेत्रमा सुरुङभित्र रहेका करिब ३०० जना बेपत्ता भएको उल्लेख गर्दै समयमै उद्धार हुन नसक्दा ठूलो क्षति भएको बताए । चिलिमे हाइड्रोपावरलगायत विभिन्न जिल्लाका जलविद्युत् आयोजनामा फसेका व्यक्तिको समयमा उद्धार हुन नसक्दा धेरैको ज्यान गएको उनको भनाइ छ । सांसद राईले आगामी दिनमा उद्धारमा खटिने सुरक्षाकर्मी तथा अन्य जनशक्तिको सुरक्षालाई समेत उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिए ।

सांसद खुश्बु ओलीले तराई–मधेसमा हुने धार्मिक द्वन्द्व तथा त्यसबाट उत्पन्न तनाव कम गर्न सरकार र सम्बन्धित पक्षले आवश्यक पहल गर्नुपर्ने बताइन् । उनले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद गजाला शमीम मिकरानीले विकसित मुलुकले लामो समयदेखि गरेको हरितगृह ग्यास उत्सर्जनका कारण नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नुपरेको बताइन् । उनले जलवायुजन्य हानि तथा नोक्सानी सम्बोधन गर्न कोष स्थापना मात्रै पर्याप्त नहुने उल्लेख गर्दै विकसित मुलुकलाई कार्बन उत्सर्जन घटाउन दबाब दिनुपर्ने बताइन् । नवीकरणीय ऊर्जामा लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बलियो आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

सांसद प्रकाशसिंह कार्कीले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । उनले विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिँदै निजी क्षेत्रलाई अर्थतन्त्रको आधार बनाएर अघि बढ्नुपर्ने बताए ।

सांसद एशुदाकुमारी बरालले कर्णाली राजमार्गमा सडक दुर्घटना हुने क्रम नरोकिएको भन्दै सडक सुधार तथा सुरक्षाका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । कर्णालीमा विद्युत्को नाङ्गो तारका कारण नागरिकको ज्यान जाने गरेको उल्लेख गर्दै उनले विद्युत् संरचनालाई सुरक्षित बनाउन तथा कर्णालीका सबै क्षेत्रमा विद्युतको पहुँच विस्तार गर्न सरकारसँग आग्रह गरिन् ।