‘पदको लोभ छैन, तर कांग्रेस कमजोर बनाउन खोजिए मूकदर्शक बन्दिनँ’: देउवा


काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्दै पार्टीलाई कमजोर र विभाजित बनाउने अवैधानिक गतिविधि भएमा मूकदर्शक भएर नबस्ने चेतावनी दिएका छन्।

एक विशेष अपिल जारी गर्दै देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतले विधिवत् रूपमा १५औँ महाधिवेशन गराई नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको बताएका छन्।

पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिको निर्णयविपरीत एकपक्षीय ढङ्गले विशेष महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने समूहप्रति देउवाले कडा आपत्ति जनाएका छन् ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका क्रममा विचाराधीन रहेकाले अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी र नैतिक दृष्टिले गलत रहेको देउवाको भनाइ छ।

अवैधानिक विशेष महाधिवेशन पक्षधर समूहले आयोजना गर्ने कुनै पनि महाधिवेशन वा गतिविधिमा सहभागी नहुन उनले देशभरका नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गरेका छन्।

पार्टीभित्रको वर्तमान मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न उनले अपिल गरेका छन्। २०७२ को महाभूकम्प र कोभिड-१९ महामारीझैँ भोटेकोशी विपत्तिपछि पुन:स्थापना र पुनर्निर्माणमा पनि सारा नेपाली एक हुने वातावरण बनाउन उनले सरकारसँग आग्रह गरेका छन्।

मुलुकमा ‘केही भएन’ भन्ने नकारात्मक भाष्यप्रति टिप्पणी गर्दै देउवाले तीन दशकअघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संशाधन विकास र गरिबी न्यूनीकरणका क्षेत्रमा भएका उपलब्धिलाई तुलनात्मक रूपमा हेर्न आग्रह गरेका छन्।

कांग्रेस, एमाले र माओवादीलगायत दलहरूले सीमित स्रोत र साधनका बीच हासिल गरेको प्रगतिलाई भुल्न नहुने उल्लेख गर्दै उनले जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न र रोजगारी सिर्जना गर्न नयाँ सोच र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।