भारतबाट दैनिक १६० बुलेट ग्यास आयात गरिनेः ग्यास अभाव टार्न सरकारको द्रुत कदम


काठमाडौँ। बजारमा चुलिँदै गएको खाना पकाउने एलपी ग्यासको कृत्रिम तथा प्राविधिक अभाव अन्त्य गर्न सरकारले भारतबाट हुने आयात परिमाणमा उल्लेख्य वृद्धि गर्ने भएको छ। आपूर्ति व्यवस्था सहज बनाउन भारतबाट दैनिक १६० बुलेट ग्यास भित्र्याउने तयारी गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले जानकारी दिएका छन्।
यसअघि भारतबाट दैनिक करिब १०० बुलेट ग्यास आयात गर्ने भनिए पनि औसतमा ९० देखि ९५ बुलेट मात्र नेपाल आइरहेको थियो।

त्यसमाथि पृथ्वी राजमार्गको कृष्णभीरमा गएको भीषण पहिरोका कारण यातायात पूर्णरूपमा सञ्चालन हुन नसक्दा काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा ग्यास आपूर्ति गम्भीर रूपमा प्रभावित भएको थियो।
नवनियुक्त उद्योगमन्त्री दीपक साहले नेपाल आयल निगमको केन्द्रीय कार्यालय पुगेर ग्यासको मौज्दात, दैनिक माग र आपूर्तिको वास्तविक अवस्थाबारे जानकारी लिएका थिए।

मन्त्रीको प्रत्यक्ष निर्देशनपछि निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ग्यासको परिमाण बढाउन औपचारिक पत्राचार गरेको थियो। नेपालको बढ्दो मागलाई सम्बोधन गर्न आइओसी दैनिक थप ६० बुलेट ग्यास उपलब्ध गराउन तयार भइसकेको मन्त्री साहले बताएका छन्।

अबको एक हप्ताभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णरूपमा सहज हुने र सर्वसाधारणले सहजै ग्यास पाउने सरकारको दाबी छ।