‘विशेषमा आएका र नआएकालाई फरक व्यवहार हुँदैन, सबैलाई एउटै चस्माले हेर्छौं’ : महामन्त्री घिमिरे


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी असोज ३ गतेदेखि सुरु हुने पार्टीको १५ औं महाधिवेशन प्रक्रियामा सबै नेता तथा कार्यकर्तालाई सहभागी हुन आग्रह गरेका छन् ।

“मनमा कुनै पनि प्रकारको दुविधा नराखेर, विशेष र अविशेषको कुनै पनि प्रकारको मानसिकता नराखेर, हिजो विशेषमा आएको र नआएको भन्ने कुनै भावना नराखेर देशभरीका सबै साथीहरूलाई असोज ३ गते सुरु हुने महाधिवेशनको प्रक्रियामा सहभागी हुन आह्वान गर्दछु,” उनले भने।

बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले विशेष महाधिवेशनमा सहभागी भएका र सहभागी नभएका नेता–कार्यकर्तालाई फरक दृष्टिले नहेर्ने स्पष्ट पारे ।

उनले निवर्तमान पार्टी सभापतिलाई विशेष महाधिवेशनमा सहभागी हुन निम्तो पठाइएको र आगामी १५ औं महाधिवेशनमा पनि उपस्थितिका लागि निम्तो पठाइने बताए। “उपस्थित हुनुहुन्छ भन्ने विश्वास छ,” उनले भने।

विशेष महाधिवेशनमा विमति राख्ने वा सहभागी नभएका नेता–कार्यकर्ताप्रति कुनै किसिमको पक्षपात नगर्ने उनले बताए । “विशेष महाधिवेशनमा सहभागी नहुने र हिजोआज आएकालाई फरक नजरले हेर्दैनौँ। सबैलाई एउटै चस्माले हेर्छौँ ,” घिमिरेले भने।

घिमिरेले कांग्रेस अब नयाँ युगमा प्रवेश गरेको दाबी गर्दै पार्टीलाई थप व्यवस्थित र गतिशील बनाउँदै मुलुकको विकासमा भूमिका निर्वाह गर्नुपर्ने बताए।
“अब पार्टी नयाँ युगमा प्रवेश गरेको छ। मुलुकलाई पनि नयाँ युगमा प्रवेश गराउनु छ,” उनले भने, “मुलुकमा उपलब्ध साधन र स्रोतलाई समुचित रूपमा परिचालन गरेर थप साधन र स्रोतको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय जगतबाट पनि सहयोग बढाउने र वर्तमान सरकारलाई सही बाटोमा हिँड्न प्रेरित तथा दबाब दिएर देशलाई तीव्र गतिमा विकासको बाटोमा अगाडि बढाउनु छ।”

नेपाललाई विश्वको विकासको उचाइमा पुर्‍याउने संकल्प गर्नुपर्ने बताउँदै उनले त्यसको जिम्मेवारी नेपाली कांग्रेसले मात्रै निर्वाह गर्न सक्ने उनको भनाइ छ ।