काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ ।
बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ । भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए ।
दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार दुवै मन्त्रीबीच विकास सहकार्यसँग सम्बन्धित विभिन्न विषयमा व्यापक छलफल भएको थियो । छलफलमा बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने तथा दुवै देशको साझा हितका अन्य विषयलाई प्राथमिकता दिइएको थियो ।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली गएका थिए । विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको जनाइएको छ । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्नेछन् ।




प्रतिक्रिया