ला पाज, २ असोज । वैज्ञानिकहरूले एक शताब्दीभन्दा बढी समयपछि पहिलोपटक नयाँ जङ्गली बिरालोको प्रजाति पहिचान गरेका छन् । राजधानी ला पाज नजिकैको पहाडी युङ्गास क्षेत्रमा भेटिएको उक्त बिरालोलाई स्थानीय नाम ‘टिल्कायो’ का आधारमा ‘लियोपार्डस टिल्कायो’ नाम दिइएको छ ।
वन्यजन्तु अनुसन्धानकर्ता तथा नेसनल जियोग्राफिककी अन्वेषक पाओला नोगालेस–अस्कारुन्जले बोलिभियन एन्डिजका स्थानीयले लामो समयदेखि उक्त जनावर देखे पनि सामान्य घरपालुवा बिरालो ठान्ने गरेको बताए । अनुसन्धान टोलीले सन् २०२१ देखि गरेको अध्ययन र आनुवंशिक परीक्षणपछि यसलाई नयाँ प्रजातिका रूपमा पहिचान गरेको हो ।
उनका अनुसार सन् १९२३ मा उरुग्वेको पम्पास बिरालो पहिचान भएपछि एक सय वर्षभन्दा बढी समयपछि नयाँ जङ्गली बिरालोको प्रजाति वर्णन गरिएको हो । टिल्कायो घरेलु बिरालोभन्दा केही सानो, करिब ४५ सेन्टिमिटर लामो, गोलाकार कान र चितुवाजस्तो थोप्ला परेको भुत्ला भएको जनावर हो ।
अहिलेसम्म दुईवटा टिल्कायो मात्र फेला परेका छन् र दुवैको पूर्ण जिनोम अनुक्रमण गरी आनुवंशिक परीक्षण गरिएको छ । एउटा भाले युङ्गासको पशु आश्रयमा राखिएको छ भने आक्रमणपछि उद्धार गरिएको पोथीलाई पुनः जङ्गलमा छाडिएको छ ।
अनुसन्धानको निष्कर्ष बिहीबार ‘करेन्ट बायोलोजी’ जर्नलमा प्रकाशित भएको हो । टिल्कायो अहिलेसम्म बोलिभियामा मात्र भेटिएको र सङ्ख्या निकै कम भएकाले लोप हुने उच्च जोखिममा रहेको नोगालेस–अस्कारुन्जले बताए । रासस




प्रतिक्रिया