जंगलबाट ६ थान भरुवा बन्दुक बरामद

File

सुर्खेत । दैलेखको महाबु गाउँपालिका–५ स्थित सामुदायिक वन तथा जंगलबाट प्रहरीले ६ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ । जंगलमा लुकाइछिपाइ राखिएको तथा बेवारिसे अवस्थामा रहेका बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी हबल्दार पटकबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो महाबु गाउँपालिका–५ स्थित गोर्ती सामुदायिक वनको जंगलमा तीन थान र त्यसको तीन किलोमिटर टाढा आरनटोलको जंगलमा थप तीन थान एकनाले भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरीले जंगलमा लुकाइएका तथा बेवारिसे अवस्थामा भेटिएका सबै ६ थान भरुवा बन्दुक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

बरामद भएका बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि जंगलमा लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।