काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति सरोजकुमार कौडेनाले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा लोकतान्त्रिक विधि र पद्धति पालना नभएको आरोप लगाउँदै राजीनामा दिएका छन्।
कौडेनाले केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाउँदै सर्लाही क्षेत्र नम्बर २ मा क्रियाशील सदस्यता वितरणका क्रममा अनियमितता भएको दाबी गरेका छन्। पार्टीको सदस्यता प्रक्रियामा देखिएको व्यवहारले कार्यकर्ताको भावना र मनोबलमा असर परेको उनको भनाइ छ।
उनले पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले अघि सारेका लोकतान्त्रिक मूल्य तथा विचारबाट कांग्रेस विमुख हुँदै गएको आरोपसमेत लगाएका छन्।
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोप लागेका व्यक्तिलाई समेत क्रियाशील सदस्यता प्रदान तथा नवीकरण गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। यस्ता गतिविधि आफूलाई स्वीकार्य नभएको भन्दै कौडेनाले कार्यवाहक सभापतिको पदसँगै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।




प्रतिक्रिया