काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन्। उनले संविधान संशोधनका नाममा यसको मूल मर्म र लोकतान्त्रिक मूल्य कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताएका छन्।
संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। उनका अनुसार संविधान संशोधनलाई सत्ता स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउन आवश्यक छ।
उनले भनेका छन्, “त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ।” साथै, बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गर्नुपर्ने उनको प्रस्ताव छ।
आङ्देम्बेले संविधान कार्यान्वयनसँगै व्यवस्थापिका, न्यायपालिका र संवैधानिक निकायको स्वतन्त्रता कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। कार्यपालिकाले अन्य संवैधानिक निकायमाथि प्रभाव जमाउने प्रयास गर्न नहुने उनको भनाइ छ।
“संविधानको हुर्मत नलिइयोस्, संविधानको मर्ममाथि खेलवाड नगरियोस् र संवैधानिक संस्थाको गरिमा नघटाइयोस्,” भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया