विचाराधीन मुद्दालाई प्रभावित गर्ने प्रयास: बौद्ध स्तुपाको वास्तविक अखण्डदीप निभाएर र नक्कली खडा गरियो


काठमाडौ, ४ असोज । श्री बौद्धनाथ मेलम्ची घ्याङ्ग गुठी, श्री बौद्धनाथ महाचैत्यमा अनादिकालदेखि प्रज्वलित अखण्डदीप निभेकोमा अखण्डदीप विधिपूर्वक बाल्न रोकेर बौद्धनाथ मेलम्ची घ्याङ्ग गुठी, व्यवस्थापन समितिसँग आबद्ध व्यक्तिहरुले अर्कै नक्कली अखण्डदीप खडा गरिएको बताइएको छ ।

गुठीका मुख्य धर्म गुरु चिनियाँ लामा भुपति बज्र लामाका अनुसार सो स्थानमा भक्तहरुले बाल्ने गरेको दीपलाई नै अखण्डदीप भनी भ्रम सिर्जना गरिएको हो । उक्त भ्रामक कार्यलाई नै अखण्डदीप बलिरहेको भन्ने देखाउन फ्लेक्स बोर्ड नै बनाएर सो व्यवस्थापन समितिका अध्यक्ष खड्गजित लामाले भ्रम छरेको पनि गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

” सो समिति र सोसँग आबद्ध व्यक्तिहरुले धर्मलोप गराउने विभिन्न गलत कार्यहरु गरेकोमा सो विरुद्ध हाल सम्मानित उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ । सो मुद्दाको मुद्दा न ०८३–wo–०४२२ रहेको छ । उक्त मुद्दालाई प्रभावित गर्नका लागि निजहरुले रातारात अखण्डदीप भन्ने फ्लेक्स बोर्ड बनाएर सो बोर्ड टाँसी अखण्डदीप बलिरहेको भनी भ्रम सिर्जना गरेको हामी जानकारी गराउन चाहन्छौं । सो सम्बन्धमा सत्य तथ्य स्पष्टताका लागि यस श्री बौद्धनाथ मेलम्ची घ्याङ्ग गुठीको भनाइ समेत प्रकाशित गरी वास्तविक तथ्य सार्वजनिक गरिदिनु हुन समेत हामी अनुरोध गर्दछौं,” बिज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति अनुसार अखण्डदीप निभिरहेकोमा विधिपूर्वक क्षमापूजा गरी अन्य स्थानमा नभई यथास्थानमा नै पुनःप्रज्वलित गर्नु पर्नेमा सो गर्न व्यवधान खडा गरेको, अन्य धार्मिक पुजापाठ आदि गर्न समेत व्यवधान खडा गरेको, भक्तहरुसँग अनावश्यक रुपमा शुल्क उठाई सो समितिले आर्थिक हिनामिना गर्ने गरेको, विश्व सम्पदा सूचिमा सूचिकृत उक्त स्थान वरिपरिको जमिन मिची, खिचोला गरी व्यक्तिगत प्रयोग र भाडामा लगाई व्यापारिक गतिविधि गरिरहेकोमा यसअघि पनि उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा (मुद्दा नं. ०७४–wo–०४२२) दिएको, सो मुद्दा यस श्री बौद्धनाथ मेलम्ची घ्याङ्ग गुठीले जिती धार्मिक गतिविधि नरोक्न मिति २०७५।०२।२४ मा फैसला भइसकेको छ । तर पनि फेरि पनि व्यवधान खडा गरेकोमा गुठीले निवेदन दिएपछि सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयबाट पत्र संख्या ०७६/०७७ चलानी नं. १९४ मिति २०७६।०७।०६ मा, अनधिकृत कार्य गर्न र संरचना हटाउन पुरातत्व विभाग, विश्व सम्पदा संरक्षण शाखाबाट २०७६।०५।०८ मा पत्र सं. २/०७५/७६ च.नं. २९१ बाट वडा कार्यालयलाई, उक्त अतिक्रमणकारी समितिलाई मिति २०७२।५।२१ मा विश्व सम्पदा संरक्षण शाखाबाट पत्र सं. २।०७२।७३ चलानी नं. ३९९ बाट गुठी संस्थान प्रधान कार्यालयले गुठी संस्थान शाखा कार्यालय काठमाडौंलाई धर्म लोप गराउने र सो गुठीको जग्गा अतिक्रमण गर्ने कार्य रोक्न प्रमाण सहित र निर्देशनात्मक आदेशको जानकारी सहित पटक पटक पत्राचार मार्फत गराएको छ ।

तर पनि हामी धार्मिक गुठी भएको कारण सो विरुद्ध कुनै उजुरबाजुर फेरि नगरी बसिरहेकोमाा समेत फेरि पनि उस्तै रुपमा धर्मलोप गराउने, गुठीको जग्गा अतिक्रमण गर्ने, अनावश्यक शुल्क भक्तहरुबाट अशुल उपर गरी मस्यौट गर्ने सम्मको कार्यप्रति सुधार होला भन्दै बसिरहेकोमा अखण्डदीप क्षमापुजा गरी विधिपूर्वक यथास्थानमा पुनः प्रज्वलित गर्नबाट पनि रोक्न थालेपछि अति भएको कारण शान्तिपूर्वक अदालतको शरणमा गई फेरि मुद्दा न ०८३–wo–०४२२ मा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरी हाल विचाराधीन रहेको छ । सोही विचाराधीन विषयको मुद्दालाई प्रभावित गर्न र भ्रम सिर्जना गर्न नक्कली साइनबोर्ड बनाई अखण्डदीप भन्ने टाँसी सञ्चार माध्यममा अखण्डदीप बलिरहेको छ भन्ने देखाई सोही कुरा भ्रामक रुपमा प्रचार गरिएको बताइएको छ ।

उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न अदालतबाट मिति २०८३।०५।३० मा आदेश भई मिति २०८३।०६।०२का लागि मिति तोकिएको थियो । सो पश्चात पुनः पहिलाको मुद्दाको सक्कल मिसिल झिकाउन र छलफल मिति २०८३।०६।०६ मा गर्ने भन्ने आदेश भएको छ । तर मुद्दा दायर भइसकेपछि छलफलमाा जाँदा नक्कली बोर्ड टाँसी अखण्डदीप बलिरहेको भन्ने देखाउन षडयन्त्रपूर्वक सो समिति र समितका व्यक्ति खड्गजित लामा समेतले भ्रामक कार्य गरेको बताइएको छ ।

देशमा यस्तै अधार्मिक, धर्म परम्परा संस्कृति विरुद्धका गतिविधिका कारणले नै सर्वत्र अशान्ति फैलिरहेको हुँदा विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथ महाचैत्यको अस्तित्व रक्षाका लागि सबैलाई सचेततापूर्वक योगदान गरिदिन पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

उक्त अखण्डदीप निभाइएकोमा क्षमापुजा गरी पुनः प्रज्वलित गर्नु पर्ने, पहिला जुन स्थानमा बलिरहेको थियो सोही स्थानमा विधिपूर्वक पूजा गरेर बाल्नु पर्ने सो नगरी अन्य स्थानमा विधि पूरा नगरी बालिएको भ्रम सिर्जना गर्ने गरी बोर्ड टाँसी अदालतलाई भ्रम सिर्जना गर्ने गरी बत्ती बालिएको बत्ती अखण्डदीप नरहेको गूठीले बताएको छ । बत्ती नियमित रुपमा बल्नु मात्र अखण्डदीप नरहेको र भक्तहरुले बाल्ने नियमित बत्ती र अनादिकाल देखिको अखण्डदीप फरक रहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै तसत्य तथ्य जानकारी सार्वजनिक गरिदिन र स्थलगत रुपमा त्यहाँका पुराना धार्मिक व्यक्तित्वहरुसँग समेत सोधपुछ गरी सत्य तथ्य बुझेर समाचार प्रकाशन गरिदिन पनि अनुरोध गरिएको छ ।