काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।
सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म झण्डै १५ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ। कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये विभिन्न नौवटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ। भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्राप्त सहयोग रकम प्रयोग गरिने सरकारले जनाएको छ।
राहत कोषमा ठूलो रकम जम्मा हुँदै गएसँगै प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने सरकारी प्रयाससमेत अघि बढाइएको छ।




प्रतिक्रिया