एमाले सचिवालय बैठकद्वारा निर्वाचन समीक्षा प्रतिवेदन पारित


काठमाडौ । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण सम्बन्धी प्रतिवेदन पारित गरेको छ।

केन्द्रीय कमिटी बैठकअघि सोमबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर प्रतिवेदन अनुमोदन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

भट्टका अनुसार प्रतिवेदनमा पार्टी अध्यक्षले राजीनामा दिने तथा विशेष महाधिवेशन गर्ने विषय समावेश गरिएको छैन। यसअघि निर्वाचन समीक्षाका क्रममा छुट्टाछुट्टै तीनवटा प्रतिवेदन तयार भएका थिए। ती प्रतिवेदनमा उठाइएका विषयलाई समेटेर अहिले एकीकृत प्रतिवेदन तयार पारिएको एमालेले जनाएको छ।

सचिवालय बैठक सम्पन्न भएलगत्तै एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कमिटी बैठकमा सचिवालयबाट पारित निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।