रसुवा बाढीमा बेपत्ता परिवारका लागि विशेष आर्थिक प्याकेज ल्याउन सरकारसँग सांसद बुढाथोकीको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकका परिवारका लागि विशेष आर्थिक सहायता तथा सामाजिक सुरक्षा कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रामेछापबाट निर्वाचित सांसद बुढाथोकीले बाढीमा आफन्त गुमाएका परिवारको अवस्था अत्यन्त पीडादायी रहेको बताए। आफू ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमअन्तर्गत रामेछापका गाउँघर पुगेर नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्ने क्रममा रसुवा बाढीमा बेपत्ता भएका तीन जनाका परिवारसँग भेट भएको उनले बताए।

उनका अनुसार ती परिवारले आफन्त बेपत्ता भएपछि आर्थिक तथा सामाजिक रूपमा ठूलो संकट व्यहोर्नुपरेको गुनासो गरेका थिए। परिवारका सदस्यहरूले आफूहरूले छोरामात्र नभई परिवारको सहारा, आम्दानीको स्रोत र भविष्यको आधारसमेत गुमाएको पीडा सुनाएको बुढाथोकीले बताए।

‘हामीले छोरा मात्रै होइन, परिवारको सहारा, आम्दानीको स्रोत र भविष्यको आधार नै गुमाएका छौँ। अब यी नातानातिनीलाई कसरी पढाउने, कसरी हुर्काउने ?’ पीडित परिवारको भनाइ उद्धृत गर्दै उनले भने।

बुढाथोकीका अनुसार रसुवा बाढीमा बेपत्ता भएकामध्ये ठूलो संख्या रोजगारीका सिलसिलामा त्यहाँ पुगेका नागरिकको रहेको छ। रामेछापका करिब ४५ जनासहित देशभरका ६ हजारभन्दा बढी परिवार अहिले गहिरो पीडामा रहेको उनले बताए।

बेपत्ता नागरिकका परिवारले राज्यबाट ठूलो आशा र भरोसा राखेको उल्लेख गर्दै सांसद बुढाथोकीले उनीहरूको अवस्थालाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले पीडित परिवारको आवश्यकताअनुसार विशेष आर्थिक प्याकेज, रोजगारी तथा आयआर्जनका अवसर, बालबालिकाको शिक्षाका लागि सहयोग र परिवारको सामाजिक सुरक्षाका लागि विशेष आर्थिक सहायता कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे।