काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातका चालक दावा लामाले आफ्नै गाडीमा आगो लगाएको घटनाप्रति राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारको ध्यानाकर्षण गराएको छ।
बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातका चालक लामाले सोमबार मध्यान्ह त्रिपुरेश्वरमा आफैंले गाडीमा आगो लगाएको घटनापछि अभियानले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै जेनजी सुनिल बि.क.ले सरकारप्रति असन्तुष्टि व्यक्त गरे। आफूहरूले सरकारले राम्रो काम गर्छ भन्ने विश्वासका साथ समर्थन गरेको भए पनि सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको उनले बताए ।
उनले जेनजी सहिद दिवसका दिन जेनजी लक्ष्मीदेवी बस्नेतले माइतीघरमा आत्मदाहको प्रयास गरेको स्मरण गर्दै सरकारले युवाहरूको समस्या जीवित रहँदा नसुन्ने र घटना भएपछि मात्रै ध्यान दिने गरेको भन्दै प्रश्न गरे। ‘सरकारले युवाहरूलाई मरेपछि मात्रै ध्यान दिने हो ?’ उनले प्रश्न गरे।
उनले वर्तमान बालेन शाह नेतृत्वकाे सरकार तानाशाही प्रवृत्तिमा चलेको आरोपसमेत लगाए। ‘यो सरकार तानाशाही प्रवृत्तिमा चलेको हो ? कसैको विरुद्धमा बोल्नै नपाउने ?’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र सरकार गठनलाई पनि उनले टिप्पणी गरे। खहरे खोलामा भेल आएजसरी रास्वपा आएको उल्लेख गर्दै उनले जनताको असन्तुष्टि बढ्दै गए फेरि सडकबाटै प्रतिरोध गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
‘खहरे खोलामा भेल आएको जसरी रास्वपा आएको छ । त्यसैगरी फेरि हामीले नलखेट्नुपर्ने हो ?’ उनले भने।
उनले जेनजी आन्दोलनका घट्नामा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै प्रश्नसमेत गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन पक्राउ नगरिएको भन्ने प्रश्न उठाउँदै उनले आन्दोलनका क्रममा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। वर्तमान सरकार ‘७८ जना युवालाई मारेर आएको’ आरोपसमेत उनले लगाए।




प्रतिक्रिया