काठमाडौं । दावा लामा आत्मदाहको प्रयास गर्न बाध्य भएको घटनाप्रति टिप्पणी गर्दै रवि किरण हमालले सरकारले गठन गर्ने छानबिन समितिप्रति प्रश्न उठाएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हमालले घटनाको वास्तविक कारण र जिम्मेवार पक्षको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । ‘जसले जनतालाई मर्न बाध्य बनायो, उसैले छानबिन गर्ने अवस्था स्वीकार्य नहुने’ उनले भने ।
उनले भने, “आज एक युवाले आत्मदाहको प्रयास गरेका छन्। देखावटी छानबिन समिति बनाएर के हुन्छ ? जसले मर्न बाध्य बनायो, उसैले छानबिन गर्ने ? यो नाटक बन्द गर्नुपर्छ।”
हमालले राज्यको व्यवहारका कारण नागरिकमा निराशा र आक्रोश बढिरहेको दाबी गर्दै यस्ता गतिविधि तत्काल रोक्न माग गरे। उनले देशको नागरिकको जीवन जोखिममा पर्दा अन्तर्राष्ट्रिय मञ्चमा हुने राजनीतिक गतिविधिभन्दा नागरिकको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
उनले संसद् र राजनीतिक नेतृत्वप्रति समेत आक्रोश व्यक्त गर्दै सांसदहरू आफ्नै नेतृत्वका गलत कामको विरोध गर्न नसक्ने अवस्थामा पुगेको आरोप लगाए। “आफ्नो प्रधानमन्त्रीले गरेको गलत कामलाई गलत भन्न नसक्ने अवस्था छ। संसद् मृत्युसैयामा पुगिसकेको छ,” उनले भने।
हमालले पछिल्लो राजनीतिक घटनाक्रममा हिंसा, तोडफोड र त्यसप्रति देखाइएको उत्सवको प्रवृत्तिमाथि समेत प्रश्न उठाए। उनले राज्यमा ‘क्रिमिनल माइन्डसेट’ हाबी हुँदै गएको आरोप लगाउँदै यस्तो प्रवृत्ति जारी रहेमा त्यसको गम्भीर परिणाम आउन सक्ने चेतावनी दिए।
उनले प्रधानमन्त्रीप्रति जनविश्वास र राजनीतिक प्रतिष्ठामा समेत प्रश्न उठेको दाबी गर्दै नागरिकमाथि हुने दबाब, दुर्व्यवहार र अन्याय अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताए।




प्रतिक्रिया