असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना,राति यात्रा नगर्न आग्रह


काठमाडौं ।  आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान गरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको हाे ।

महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने बताइएको छ ।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय प्रणाली अहिले बंगालको खाडीको मध्य क्षेत्रमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने भएकाले बुधबारदेखि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि थप बढ्ने अनुमान गरिएको छ ।

भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ । विशेषगरी सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहेको र खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाको चेतावनी छ । नदी तथा खोला आसपासमा भइरहेका निर्माण कार्यमा समेत जोखिम हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।