कांग्रेस १५ औं महाधिवेशन: युवा ३५ वर्षमुनिबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारीमा अनिता



रामेछाप । पत्रकारिता हुँदै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय अनिता कुमारी थापा मगर नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा युवा ३५ वर्षमुनिको समूहबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने तयारीमा रहेकी छन्।


हाल २५ वर्षकी थापा मगर १५ वर्षको उमेरदेखि नै पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। एसईई परीक्षा दिएलगत्तै रेडियो पत्रकारिताबाट आफ्नो यात्रा सुरु गरेकी उनले करिब सात वर्ष रेडियोमा काम गरिन्। त्यसपछि न्यूज २४ मा करिब तीन वर्ष जिल्ला संवाददाताका रूपमा काम गरेकी थिइन्।


पत्रकारिताको क्रममा समाजमा देखिएका विभिन्न बेथिति, विकृति तथा समस्याविरुद्ध खबरदारी गर्दै आएकी थापा मगर पछिल्लो समय सामाजिक क्षेत्रसँगै राजनीतिमा समेत सक्रिय छिन्।


उनी एक दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्। कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा सहभागी भएकी उनी १५औँ महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्।


पत्रकारिता र राजनीतिसँगै थापा मगर सामाजिक क्षेत्रमा पनि सक्रिय छिन्। उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, रामेछाप शाखाको सचिवसमेत हुन्।


हाल उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत योग विज्ञान विषयमा स्नातकोत्तर अध्ययनरत छन्। साथै, भृकुटीमण्डपस्थित नेपाल ल क्याम्पसमा एलएलबी दोस्रो वर्षमा अध्ययन गरिरहेकी छन्। उनी जीवन विज्ञान नेपालकी योग प्रशिक्षकसमेत हुन्।


सानैदेखि धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि राख्दै आएकी थापा मगर पछिल्लो समय विभिन्न आध्यात्मिक गतिविधिमा समेत सक्रिय छिन्


पत्रकारिता, सामाजिक क्षेत्र र राजनीतिमा हासिल गरेको अनुभवलाई आगामी राजनीतिक यात्रामा उपयोग गर्ने उद्देश्यसहित आफूले युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीको तयारी गरेको उनले बताएकी छन्। “आफ्नो अनुभवलाई राजनीतिक यात्रामा उपयोग गर्दै युवा पुस्ताको प्रतिनिधित्व गर्न महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीको तयारी गरेकी हुँ,” उनले भनिन्।

कांग्रेसको प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन यही असोज १० गते हुँदैछ । त्यस्तै केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेछ ।