टोकियो, ६ असोज । जापानमा आएको शक्तिशाली ताइफुन दुजुआनका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भारी वर्षा र पहिरोका कारण टोकियो आसपासका हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।
मंगलबार बिहानसम्म ताइफुन जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढिसकेको थियो । आँधी कमजोर भएसँगै अधिकारीहरूले भारी वर्षा र पहिरोको जोखिमसम्बन्धी अधिकांश चेतावनी हटाएका छन् ।
ताइफुनका कारण राजधानी टोकियोमा आयोजना भइरहेको विश्वकै ठूला भिडियो गेम व्यापार मेलामध्ये एक कार्यक्रमसमेत निर्धारित समयभन्दा अगावै बन्द गरिएको थियो ।
जापानमा गर्मीयामको अन्त्यदेखि शरद ऋतुको सुरुवातसम्म शक्तिशाली ताइफुन आउने गरेका छन् । यसअघि पनि यस मौसममा आएका अन्य आँधीका कारण जापानमा जारी एसियाली खेलकुदका केही कार्यक्रम प्रभावित भएका थिए ।
जापानको अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियो नजिकैको कानागावा प्रिफेक्चरमा एक जनाको मृत्यु भएको छ । त्यस्तै, चिबा प्रिफेक्चरमा पनि एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मुसलधारे वर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका चार जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ । मंगलबार बिहानसम्म टोकियो नजिकैको चिबा क्षेत्रमा ४६ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध थियो ।
ताइफुन कमजोर हुँदै उत्तरपूर्वतर्फ अघि बढे पनि टोकियो क्षेत्रका केही स्थानमा अत्यधिक वर्षा भएको छ । टोकियोबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको ओशिमा द्वीपमा ४८ घण्टामा ८३२ मिलिमिटर वर्षा मापन गरिएको छ। यो सेप्टेम्बर महिनाको औसत वर्षाभन्दा दोब्बरभन्दा बढी हो ।
त्यस्तै, टोकियोको एडोगावा वार्डमा २४ घण्टामा २८२.५ मिलिमिटर वर्षा भएको थियो, जुन त्यहाँको रेकर्ड वर्षा हो ।
वैज्ञानिकहरूका अनुसार मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले अत्यधिक वर्षाको जोखिम बढाइरहेको छ । तापक्रम बढ्दै जाँदा वायुमण्डलले बढी जलवाष्प धारण गर्ने भएकाले भारी वर्षा हुने सम्भावना पनि बढ्ने वैज्ञानिकहरूको भनाइ छ । रासस




प्रतिक्रिया