रौतहट । रौतहटको माधवनारायण नगरपालिका–१, दिपही गाउँका अति विपन्न दलित समुदायका उमेश पासवानको साहुको खेतमा मल तथा विषादी छर्न जाने क्रममा रहस्यमय ढङ्गले मृत्यु भएको छ।
पीडित परिवारले साहु चन्देश्वर राय यादव र बिन्देश्वर राय यादवको लापरवाही तथा समयमा उपचार नपाएका कारण उमेशको मृत्यु भएको आरोप लगाएका छन्। परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
परिवारको मुख्य कमाउने सदस्यको मृत्यु भएपछि उमेशको परिवार शोकसँगै गम्भीर आर्थिक संकटमा परेको छ। घटनाबारे स्थलगत रूपमा दिपही पुगेर पीडित परिवारसँग कुराकानी गरिएको छ। परिवारले उमेशको मृत्युको वास्तविक कारण पत्ता लगाई न्याय दिलाउन माग गरेका छन्।
यसैबीच, घटनामा आरोप लगाइएका साहु चन्देश्वर राय यादवको धारणा लिन सञ्चारकर्मी उनकै निवास पुगेका थिए। तर, यादवले भिडियो तथा क्यामेरासामु घटनाबारे बोल्न अस्वीकार गरे।
अनौपचारिक कुराकानीका क्रममा भने यादवले आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताए । उमेशलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको र हृदयघातका कारण मृत्यु भएको उनले बताए ।




प्रतिक्रिया