सदनमा ज्ञानेन्द्र शाहीकाे टिप्पणी- ‘सरकारले सुरुङमा फसेकाहरूको हत्या गर्‍यो’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको सरकारले हत्या गरेको बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै शाहीले उद्धारमा भएको ढिलाइका कारण सुरुङमा फसेकाहरूको ज्यान गएको दाबी गर्दै घटनालाई ‘राज्यद्वारा प्रायोजित हत्या’ को संज्ञा दिए।

उनका अनुसार सुरुङमा मानिस फसेको जानकारी पाएपछि पनि सरकारले तत्काल उद्धारको पहल गरेन। उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति परिचालनमा समेत ढिलाइ भएको उनको आरोप छ ।

शाहीले प्रधानमन्त्रीले सुरुङभित्र जमेको हिलो हटाउन आवश्यक प्रविधि तथा उपकरण उपलब्ध नभएको भन्दै दिएको अभिव्यक्तिप्रति समेत प्रश्न उठाए।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै शाहीले अझै धेरै नागरिक बेपत्ता रहेको बताए। पीडित परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारीको पर्खाइमा रहेको भन्दै उनले सरकारलाई उद्धार, खोजी र राहतलाई प्राथमिकतामा राख्न आग्रह गरे।

‘सरकारसँग ठूलो संख्यामा सुरक्षाकर्मी र कर्मचारी छन्, राज्यसँग स्रोतसाधन पनि छ। तर उद्धार संयन्त्र कहाँ छ ? एउटा नागरिकको उद्धारका लागि पनि हप्तौँ कुर्नुपर्ने हो ?’ उनले प्रश्न गरे।