एनआरएनएको माग : विदेशको ज्ञान र सीप भित्र्याउन लगानीमैत्री वातावरण बनोस्


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सह-कोषाध्यक्ष गंगा खतिवडाले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र दक्षता नेपालमा भित्र्याउन सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्ने बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सह-कोषाध्यक्ष खतिवडाले गैरआवासीय नेपालीहरू संसारको जुनसुकै कुनामा पुगे पनि मातृभूमिसँग जोडिन र नेपालको विकासमा योगदान पुर्‍याउन इच्छुक रहेको बताएकी हुन् ।

“हामी जुनसुकै देशमा गए पनि त्यहाँ हासिल गरेको ज्ञान, सीप र कामप्रतिको बफादारिता नेपालमा भित्र्याउन चाहन्छौँ,” खतिवडाले भनिन् “यसका लागि सरकारले ढुक्क भएर काम गर्ने र लगानी गर्ने वातावरण बनाइदेओस् भन्ने हाम्रो चाहना छ ।”

वैदेशिक रोजगारी र व्यवसायमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याइरहेको उल्लेख गर्दै उनले विपद्को समयमा एनआरएनएले सरकारसँग सहकार्य गर्दै आएको दाबी गरिन् ।

भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्र क्षतविक्षत भएको सन्दर्भ जोड्दै उनले संकटको घडीमा प्रभावित नागरिकलाई राहत तथा मलम लगाउने काममा संघले सरकारसँग काँधमा काँध मिलाएर काम गर्न चाहेको बताइन् ।