काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपाली श्रमिकका समस्या तथा मलेसियाको वैदेशिक रोजगारीमा देखिएको सिन्डिकेट र विचौलिया प्रथाबारे भएको टेलिफोन वार्ताको म्यानपावर व्यवसायी मिलन कटेलले स्वागत गरेका छन्।
२५ म्यानपावर व्यवसायीको तर्फबाट प्रतिक्रिया दिँदै एसिया लिङ्क सर्भिसेजका सञ्चालक कटेलले प्रधानमन्त्रीद्वयबीच भएको वार्ता सकारात्मक र महत्वपूर्ण रहेको बताए।
‘आज प्रधानमन्त्री बालेन शाह र मलेसियाका प्रधानमन्त्रीबीच भएको वार्ता सकारात्मक छ। यसको म स्वागत गर्न चाहन्छु,’ कटेलले भने, ‘वार्ता फलदायी हुनेमा विश्वस्त छु।’
उनले नेपाली श्रमिकको हित, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने तथा मलेसियाको रोजगारी प्रक्रियामा देखिएका समस्या समाधान गर्ने दिशामा दुई देशका प्रधानमन्त्रीबीच भएको संवादलाई महत्वपूर्ण पहलका रूपमा लिएको बताए।

प्रधानमन्त्री शाहले मलेसियामा नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा विचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका थिए।
प्रधानमन्त्री शाहले समस्या समाधानका लागि दुवै देशका श्रममन्त्रीलाई प्रत्यक्ष वार्तामा बस्न आग्रह गरेका थिए।
जवाफमा मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र विचौलिया प्रथाको विरोध गर्दै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग समन्वय गरी ठोस निकास निकाल्न निर्देशन दिने बताएका छन्।
यसअघि मलेसिया सरकारले कामदार छनोट तथा भर्ती प्रक्रियाका लागि नेपालका २५ वटा म्यानपावर एजेन्सीलाई सूचीकृत गरेको थियो। उक्त सूची सार्वजनिक भएपछि अन्य म्यानपावर व्यवसायीले विरोध जनाउँदै आएका थिए।
कटेलले भने प्रधानमन्त्रीद्वयबीचको पछिल्लो संवादले वैदेशिक रोजगारी क्षेत्रका विद्यमान समस्या समाधानका लागि सकारात्मक वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया