काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुबईस्थित नेपाली कन्सुलेट कार्यालयबाट मागपत्र प्रमाणीकरणमा भइरहेको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघका अध्यक्ष तथा पदाधिकारीहरूले मन्त्रालयका सचिवसँग भेट गरी दुबईस्थित नेपाली कन्सुलेट कार्यालयमा रीतपूर्वक पेश गरिएका तथा निर्धारित चेकलिस्टअनुसार आवश्यक सम्पूर्ण कागजात पूरा भएका मागपत्रको समेत प्रमाणीकरण प्रक्रियामा अनावश्यक ढिलाइ भइरहेको जानकारी गराएका हुन्।
संघका महासचिव हिराबहादुर डाँगी (हरि) का अनुसार प्रमाणीकरणमा भइरहेको ढिलाइका कारण वैदेशिक रोजगार व्यवसायी तथा नेपाली श्रमिक दुवैले विभिन्न कठिनाइ र अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको छ।
मागपत्र प्रमाणीकरणमा लामो समय लाग्दा रोजगारीका प्रक्रिया प्रभावित हुनुका साथै रोजगारदाता र व्यवसायीबीचको समन्वयमा समेत समस्या उत्पन्न भइरहेको संघले जनाएको छ ।
संघले मागपत्र प्रमाणीकरणको प्रक्रियालाई सरल, सहज, पारदर्शी र समयमै सम्पन्न हुने व्यवस्था मिलाउन मन्त्रालयसमक्ष आग्रहसमेत गरेको छ। दुबई नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले त्यहाँबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने संघको माग छ।




प्रतिक्रिया