काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउन एफडब्लूसीएमएस प्रणालीमा नेपालका २५ वटा इजाजतप्राप्त संस्थालाई मुख्य संस्था र २५० वटा संस्थालाई उप–एजेन्टका रूपमा सूचीकरण गरिएको विषयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) नेपालको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) सहितको प्रतिनिधिमण्डलले आईओएम नेपालका कन्ट्री डाइरेक्टरसँग भेट गरी उक्त व्यवस्थाबारे विस्तृत छलफल गरेको हो।
भेटका क्रममा संघले एफडब्लूसीएमएसको वर्तमान व्यवस्थाले निश्चित संस्थालाई मात्र प्राथमिकता दिँदा वैदेशिक रोजगार व्यवसायमा एकाधिकार कायम हुनसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिएको छ।
त्यसैगरी, प्रणालीमा गरिएको व्यवस्थाका कारण नेपाली श्रमिकमाथि थप आर्थिक भार पर्न नहुने तथा वैदेशिक रोजगार व्यवसायीहरूले समान अवसर र प्रतिस्पर्धाका आधारमा व्यवसाय सञ्चालन गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने विषयमा पनि संघले ध्यानाकर्षण गराएको छ।
संघले एफडब्लूसीएमएस प्रणालीलाई थप पारदर्शी, समान र प्रतिस्पर्धात्मक बनाउँदै नेपाली श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीको हित सुनिश्चित गर्न आवश्यक पहल गर्न आईओएमसमक्ष आग्रह गरेको संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले जानकारी दिए ।




प्रतिक्रिया