काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुनुका साथै साना-ठूला नदी तथा खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
महाशाखाले मौसम तथा बाढी पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै वर्षाका कारण नदी प्रणालीहरूमा जलसतह उल्लेख्य बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङ जिल्ला भई बहने नदी तथा खोलाहरूमा बहाव बढ्नेछ।
यसैगरी दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन र नवलपरासी (पूर्व) लगायतका जिल्लाहरू भएर बहने साना नदी तथा खोलामा पनि जलसतह उल्लेख्य बढी आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
जाँचबुझ तथा विश्लेषणअनुसार बिहीबार कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भएर बहने केही साना नदी तथा खोलाहरूमा बहाव आकस्मिक रूपमा बढ्ने सम्भावना छ। त्यसैगरी शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशका साना नदी तथा खोलाहरूमा बाढीको प्रकोप आकस्मिक रूपमा बढ्न सक्ने बुलेटिनमा उल्लेख छ।
अविरल वर्षा र सम्भावित बाढीका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, तटीय क्षेत्रका नागरिक तथा सर्वसाधारणलाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारीका साथ सावधानी अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।




प्रतिक्रिया