काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले डिजिटल कारोबार बढ्दै गएकाले भुक्तानी प्रणालीलाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभामा प्रस्तुत ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा बोल्दै उनले प्रस्तावित विधेयकले विद्यमान कानुनी तथा व्यावहारिक समस्या समाधान गर्दै भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने बताए।
उनले भुक्तानी प्रणालीलाई केवल रकम हस्तान्तरणको माध्यमका रूपमा नभई बचतलाई उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँछ । यसले कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्नसमेत सहयोग गर्छ ।’
विधेयकले बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता बढाउन तथा भुक्तानीसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
डिजिटल कारोबारको विस्तारसँगै साइबर सुरक्षा र उपभोक्ताको वित्तीय तथ्यांकको संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्नेमा बुढाथोकीले जोड दिए। साथै, सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति र विदेशी संस्थाको अनुमति नवीकरणसम्बन्धी प्रावधानले नियमनलाई थप व्यवस्थित गर्ने उनले बताए।




प्रतिक्रिया