भारी वर्षाको जोखिम,स्वास्थ्य संस्थालाई मन्त्रालयले भन्यो- तयारी अवस्थामा रहनु


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो।

निरन्तर वर्षाका कारण बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपबाट दुर्घटना तथा चोटपटकका घटना बढ्न सक्ने र जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरिएको हो।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न अनुरोध गरेको छ। साथै बिरामीको स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन तथा एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।

थप जानकारी तथा सहयोगका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हेल्पलाइनमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।