पर्यटन बोर्डको सीईओ बन्न पूर्वमन्त्री श्रेष्ठले पनि दिइन् आवेदन,नियुक्तिमा करोडौं चलखेलको आशंका !


काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४२ जनाले आवेदन दिएका छन्। बोर्डले भदौ २६ गते १० दिनको म्याद राखेर खुलाएको आवेदनमा अन्तिम दिनसम्म ४२ जनाको दरखास्त परेको हो।

स्रोतका अनुसार ११ जनाले इमेलमार्फत र ३१ जनाले बोर्डमै उपस्थित भएर आवेदन दिएका छन्। आवेदन दिनेहरूमा पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा अनुभवी व्यक्तिहरू छन्। जो योग्य,सक्षम र इमानदार छन् ।

त्यसमध्येमा एकजना भने मन्त्री भइसकेको व्यक्ति छन् । मन्त्री भैसकेका व्यक्तिले नै बोर्डको सिईओको लागि आवेदन दिएपछि बोर्डका कर्मचारी नै चकित परेका छन् ।

बोर्डका कर्मचारी नै चकित पर्नेगरी आवेदन दिने व्यक्ति भने अरु कोहि होइनन् । उनी हुन् हुन् ताप्लेजुङकी श्रद्धा श्रेष्ठ । उनी ‘जेन-जी’ सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी थिइन् ।

मन्त्री बन्नुअघि उनी नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत थिइन्। वरिष्ठ प्रबन्धक पदबाट राजीनामा दिएर सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बनेकी श्रेष्ठले पुनः आफू कार्यरत रहिसकेको संस्थाको सीईओ पदमा आवेदन दिएकी हुन्।

पूर्वमन्त्रीदेखि पर्यटन क्षेत्रमा लामो अनुभव भएका व्यक्तिसम्म प्रतिस्पर्धामा रहेपछि अब सीईओ नियुक्तिमा आर्थिक चलखेल हुनसक्ने आशंकासमेत गरिएको छ।

पूर्वमन्त्रीले नै आवेदन दिएपछि अहिले पर्यटन क्षेत्रमा सिईको नियुक्तिमा करोडौं रुपैयाँसम्मको चलखेल हुनसक्ने चर्चा भएको छ ।

लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध भएकाहरुले सीईओ पदको प्रतिस्पर्धा र नियुक्ति प्रक्रियालाई नजिकबाट हेरिरहेका छन् । कतिपयले भने आर्थिक प्रभाव, राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धले नियुक्तिमा प्रभाव पार्न सक्ने हो कि भन्ने आशंका व्यक्त गरेका हुन् ।

बोर्डको सीईओ पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ।