रसुवा । भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्ति तथा प्रभावित परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै रसुवाको स्याफ्रुबेँसी र सानो भार्खुमा विशेष धार्मिक पूजा एवं छ्योइकार सप्ताह सम्पन्न भएको छ ।
शार मिनुब गुम्बा, कर्मापा श्यामारनग सङ्घ, श्री कर्म राजा महाविहार सङ्घको आयोजनामा भएको उक्त कार्यक्रम गत भदौ १० गते गएको बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, शान्ति बजार, मैलुङ, खाल्टे, बेत्रावती बजारलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । विपद्का कारण शोकमा डुबेका परिवारलाई धार्मिक तथा सामाजिक रूपमा आत्मिक शान्ति र राहत प्रदान गर्ने उद्देश्यले यो धार्मिक विधिको आयोजना गरिएको हो ।
स्याफ्रुबेँसीमा ३० लामा गुरुहरूको उपस्थितिमा विशेष पाठ पूजा गरिएको थियो । डुप्सेङ रिम्पोछे, ढुप्वेन निग्यम रिम्पोछे र रसाङपो रिम्पोछेको नेतृत्वमा भएको उक्त पूजामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी, गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गतकै सानोभार्खुस्थित महाकरुणा गुम्बामा आजदेखि सुरु भएको विशेष पाठ पूजा तथा छ्योइकार सप्ताह आज सम्पन्न भएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, स्थानीय जनप्रतिनिधि, धार्मिक गुरु तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा सो धार्मिक अनुष्ठान सम्पन्न भएको हो ।
विपद्पछिको कठिन परिस्थितिमा आयोजना गरिएको यस धार्मिक अनुष्ठानले बाढीप्रभावित क्षेत्रका बासिन्दामा सकारात्मक ऊर्जा थप्नुका साथै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको आयोजकले जनाएका छन् । साथै बाढीप्रभावित परिवारलाई राहतसमेत वितरण गरिएको बताइएको छ ।
कर्मापा श्यामारनग सङ्घ बौद्ध काठमाडौँका अध्यक्ष खेन्पो टासी ओसेरका अनुसार पीडितलाई राहत वितरण गरिनुका साथै विशेष पाठपूजा गरिएको थियो । गोसाइँकुण्ड गाउँपालिका–५ को कार्यवाहक वडाध्यक्ष डोल्मा तामाङले ताकी पुन्यको काम सहज बनोस भन्दै उहाँहरूलाई सहजीकरण गरेका थिइन् ।




प्रतिक्रिया