काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठककै बीचमा आज सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजे सचिवालय बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठक सम्पन्न भएपछि मध्याह्न १२ः३० बजे केन्द्रीय कमिटी बैठक पुनः बस्नेछ। ललितपुरस्थित एक पार्टी प्यालेसमा सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने एमालेको तयारी छ।
सचिवालय बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुने बताइएको छ। साथै, केन्द्रीय कमिटीमा मनोनीत गरिने सदस्यहरूको नामबारे पनि छलफल हुनेछ ।
बैठकमा पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा समेत छलफल हुने जनाइएको छ। सचिवालयमा आवश्यक छलफल गरेपछि स्थायी कमिटी र पोलिटब्युरो गठनसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाटै घोषणा गर्ने तयारी एमालेको छ।




प्रतिक्रिया