काठमाडौं । बिहीबार देशका अधिकांश भू-भागमा मौसम बदली रहने तथा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने केही स्थानमा यस्तै मौसमको सम्भावना छ।
मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साथै सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोसी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, मधेस प्रदेश र कोसी प्रदेशको तराई क्षेत्रमा थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
महाशाखाका अनुसार अहिले देशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-मध्य तथा आसपासको उत्तर-पश्चिमी क्षेत्रमा गहिरो न्यून चापीय क्षेत्रमा परिणत भएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने महाशाखाले जनाएको छ।




प्रतिक्रिया