कांग्रेस १५ औं महाधिवेशन : महामन्त्रीमा डा. सुनिल शर्माको चर्चा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँएसँगै पार्टीको नयाँ नेतृत्व र पदाधिकारीमा को–को आउने भन्ने बहस सुरु भएको छ। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई लिएर महामन्त्रीका आकांक्षीहरूको चर्चा कांग्रेसभित्र बढेको छ ।

यही क्रममा कांग्रेस नेता डा. सुनिल शर्माको नाम महामन्त्री पदका लागि चर्चा हुन थालेको छ। कांग्रेसभित्रैका नेता तथा कार्यकर्ताले शर्मालाई महामन्त्रीको भूमिकामा ल्याउनुपर्ने भन्दै नेतृत्वसमक्ष दबाब बढाएको छ।

पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय शर्माले स्वास्थ्य क्षेत्रसँगै सामाजिक सेवामार्फत पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनी २०५४ सालमा नेपाली कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका र १३औँ महाधिवेशनदेखि महासमिति सदस्य बनेर पार्टीलाई योगदान दिँदै आएका छन् ।

शर्माको स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा गरेको योगदानले पार्टीभित्र मात्रै नभएर देशैभरका जनताले स्वच्छ छवि भएको समाजसेवी व्यक्तिका रूपमा चिनिन्छन् । विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा शर्माले आर्थिक रूपमा कमजोर तथा उपचारबाट वञ्चित नागरिकलाई सहुलियत र निःशुल्क उपचार गर्दै आएका छन्।

त्यस्तै,गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारीसमेत उनले भर्खरै लिएका छन् ।

शुक्रबार(भदौ २६,२०८३) मा फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

फाउन्डेसनको अध्यक्षको जिम्मेवारी लिएसँगै शर्माले उपचार खर्च धान्न नसक्ने १ हजार जनाको निःशुल्क शल्यक्रिया गर्ने घोषणा समेत गरे ।

`पार्टीलाई परम्परागत राजनीतिक घेराभन्दा बाहिर लैजान सक्ने, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा प्रत्यक्ष काम गरेको र संगठनभित्र कार्यकर्तासँग जोडिन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो,´ शर्मा समर्थक एक नेताले भने । महामन्त्रीजस्तो संगठन सञ्चालन र कार्यकर्तासँग प्रत्यक्ष जोडिने पदमा शर्मा उपयुक्त हुन सक्ने उनीहरूको दाबी छ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौमा हुँदैछ।