पोखरा । अत्यधिक वर्षाबाट बाढी, पहिरो लगायत जोखिम रहने भन्दै मौसम विज्ञान विभागले सूचित गरेपछि पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।
महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २ दिन स्थानीय बिदा दिने निर्णय गरेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
‘सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरिएको छ,’ उनले भने, ‘उक्त दुई दिनको बिदालाई पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ ।’ मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको उनले बताए ।
यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ । ‘यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ,’ आचार्य भन्छन्, ‘सुरक्षा नै पहिलो प्राथमिकता हो ।’




प्रतिक्रिया