भन्सार अधिकृतले गृहमन्त्रीलाई हान्छु भन्छ भने हामी सदनमा के गरिरहेका छौँ ?: संग्रौला


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले कञ्चनपुर भन्सारका एक अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको भन्दै छानबिन गर्न माग गरेकी छन्।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त अडियोमा विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई समेत लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिइएको बताइन्।

‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरिक्षक र स्वयम गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमाण्ड धब्जी उडाएका छन्’ संग्रौलाले भनिन्, ‘यो स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि, तिमिलाई भेटेर हान्छु भनेको हो कि अथवा तिम्रो पद खान्छु भनेको हो ?’

सांसद संग्रौलाले सरकारी कर्मचारीबाटै यस्तो अभिव्यक्ति आउनु गम्भीर विषय भएको बताउँदै अडियोको सत्यतथ्य छानविन गर्न माग गरिन्।