संसद् बैठकमा सांसदको उपस्थितिको लागि रास्वपाले बनायो समूहगत तालिका


काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उपस्थिति न्यून हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदको नियमित उपस्थिति सुनिश्चित गर्न समूहगत तालिका बनाएको छ।

संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार रास्वपाका सांसदलाई चार समूहमा विभाजन गरी विभिन्न दिन अनिवार्य उपस्थितिको व्यवस्था गरिएको हो।

तालिकाअनुसार असोज ८ गते समूह ३, ४ र १, असोज १२ गते समूह १ र २, असोज १३ गते समूह २ र ३, असोज १४ गते समूह ३ र ४, असोज १५ गते समूह ४ र १ तथा असोज १६ गते समूह १ र २ का सांसद बैठकमा अनिवार्य उपस्थित हुनुपर्नेछ।

सम्बन्धित समूहका सांसदले बैठक सुरु भएदेखि अन्त्यसम्म उपस्थित भई छलफलमा सक्रिय सहभागिता जनाउनुपर्ने सूचनामा उल्लेख छ।

रास्वपाले समूहगत तालिका बनाइएको भन्दै अन्य समूहका सांसदलाई संसद् बैठकमा उपस्थित हुन आवश्यक छैन भन्ने अर्थ नलाग्ने स्पष्ट पारेको छ। विशेष अवस्था बाहेक संसद् बैठक सबै सांसदका लागि अनिवार्य रहेको जनाएको छ।

बैठकको कामकारबाही प्रभावित नहुने गरी खाजा तथा अन्य आवश्यक कामका लागि पालैपालो समय व्यवस्थापन गर्न पनि सांसदहरूलाई निर्देशन दिइएको छ।

त्यस्तै, कुनै प्रस्ताव वा विधेयक निर्णयार्थ पेश हुने समयमा तोकिएका सबै सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने रास्वपाले जनाएको छ।