रुसी सेनामा नेपाली नागरिक प्रयोग भएको राष्ट्रसंघ महासभामा जेलेन्स्कीको दाबी


काठमाडौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने क्रममा रुसी सेनामा नेपाली नागरिकसमेत प्रयोग भइरहेको दाबी गरेका छन् ।

बुधबार न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा विभिन्न ४७ देशका नागरिकलाई रुसी सेनासँग जोडेको दाबी गरेका हुन्। उनले ती देशमध्ये नेपाललाई समेत उल्लेख गर्दै सम्बन्धित सरकारहरूलाई आफ्ना नागरिकलाई युद्धमा सहभागी हुनबाट रोक्न आग्रह गरे।

जेलेन्स्कीले आफ्नो सम्बोधनमा घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिक रुसी सेनासँग जोडिएको बताएका थिए। उनले विदेशी नागरिकहरूलाई रुसी सेनामा संलग्न गराउने क्रममा विभिन्न किसिमका छल र प्रलोभन प्रयोग भइरहेको दाबी गरे।

युद्धका क्रममा गैररुसी नागरिकहरू युद्धभूमिमा मारिएको समेत उनले उल्लेख गरे। महासभामा उपस्थित सम्बन्धित देशका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले आफ्ना नागरिकको सुरक्षामा ध्यान दिन र उनीहरूलाई युद्धको मोर्चामा पुग्नबाट रोक्न आग्रह गरे।

‘आफ्ना मानिस र आफ्ना नागरिकको ख्याल गर्नुहोस् । उनीहरूलाई अर्को मोर्चामा पुग्न नदिनुहोस्,’ उनले भने, ‘पुटिनलाई तपाईँहरूलाई पनि यो युद्धमा तान्न नदिनुहोस्।’ जेलेन्स्कीले रुसी सेनामा कति नेपाली नागरिक संलग्न रहेको भन्नेबारे भने कुनै संख्या सार्वजनिक गरेनन्।

नेपालबाट रुसी सेनामा पुगेका भनिएका नागरिकहरू कुन प्रक्रियाबाट त्यहाँ पुगेका हुन् वा उनीहरूमध्ये कति जना युद्धमा मारिए भन्ने विवरण पनि उनले आफ्नो सम्बोधनमा दिएनन्। उनले युक्रेनले युद्धका क्रममा विभिन्न देशका नागरिकलाई युद्धबन्दीका रूपमा फेला पारेको दाबी गरे। केही विदेशी नागरिक छल र प्रलोभनमार्फत रुस पुगेको उनको भनाइ थियो।

यसअघि पनि रुसी सेनामा नेपाली नागरिक भर्ती भएको विषय नेपालमा सार्वजनिक चासो र बहसको विषय बन्दै आएको छ।