संयुक्त राष्ट्रसङ्घ, ८ असोज । सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उनले इजरायलले आफू सत्तामा आएयता सिरियामा ५०० भन्दा बढी हवाई तथा तोप आक्रमण र करिब एक हजार २०० स्थल कारबाही गरेको दाबी गरे । ती कारबाहीका क्रममा करिब ३०० जनालाई हिरासतमा लिइएको उनले बताए ।
अल–साराले सन् १९६७ को युद्धमा इजरायलले सिरियाबाट कब्जा गरेको तथा सन् १९८१ मा विलय घोषणा गरेको गोलान हाइट्समाथिको इजरायली नियन्त्रणको विरोध गरे । “गोलान सिरियाको भूमि नै रहनेछ”, उनले भने ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलान हाइट्समाथि इजरायलको सार्वभौमिकतालाई मान्यता दिएका थिए । तर संयुक्त राष्ट्रसङ्घ र अधिकांश अन्तर्राष्ट्रिय समुदायले गोलानलाई सिरियाली भूभाग मान्दै इजरायलको विलयलाई मान्यता दिएका छैनन् ।
अल–साराले इजरायललाई सन् १९७४ को सम्झौताअनुसार कायम गरिएको असैन्यीकृत क्षेत्रसम्बन्धी व्यवस्था पालना गर्न आग्रह गर्दै इजरायली सेनालाई सन् २०२४ डिसेम्बर ८ को अवस्थाको सीमारेखातर्फ फर्किन आग्रह गरे । इजरायलले दक्षिणी सिरियामा सेना पठाउनुको कारण सम्भावित आक्रमण रोक्नु रहेको बताउँदै आएको छ ।
यसैबीच, अल–साराले मङ्गलबार अट्लान्टिक काउन्सिलको कार्यक्रममा ट्रम्पको गोलानसम्बन्धी नीतिमाथि व्यङ्ग्य गर्दै गोलान हाइट्सको सट्टा इजरायललाई न्यु जर्सी दिने प्रस्ताव किन नगरेको भनेर आफूले ट्रम्पलाई सोधेको बताएका थिए । रासस




प्रतिक्रिया