मौरीगोला सुरक्षित स्थानमा सार्न आग्रह


चितवन, ८ भदौ । आगामी १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले मौरीगोला सुरक्षित स्थानमा राख्न मौरीपालन विकास केन्द्र, भण्डाराले किसानलाई आग्रह गरेको छ ।

केन्द्रका प्रमुख सुजन अङ्गाईका अनुसार मौसमविद् तथा नेपाल मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित बाढी तथा डुबानबाट मौरीगोला जोगाउन पूर्वसतर्कता अपनाउन आवश्यक रहेको हो ।

मौसमविद्का अनुसार उक्त अवधिमा पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले खोला तथा बगर क्षेत्र, डुबान हुने होचा भूभाग र बाढीको जोखिम भएका स्थानमा राखिएका मौरीगोलालाई तत्काल सुरक्षित स्थानमा सार्न केन्द्रले आग्रह गरेको छ ।

प्रमुख अङ्गाईले विगतमा खोला तथा नदी किनार र खेतमा राखिएका मौरीका घार तथा मौरीगोला बाढी र डुबानका कारण नष्ट भएका घटना रहेकाले यसपटक किसानलाई समयमै सचेत गराइएको बताए । उनले भने, “मौसम पूर्वानुमानलाई आत्मसात् गर्दै सम्भावित क्षति हुन नदिन मौरीका घार तथा गोलालाई समयमै सुरक्षित स्थानमा सार्न सम्पूर्ण मौरीपालक किसानलाई आग्रह गरेका छौँ ।”