काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघका पदाधिकारीसहितको प्रतिनिधिमण्डल र नेपालस्थित संयुक्त अरब इमिरेट्सका राजदूतबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाली श्रमिकको वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न विषयमा महत्वपूर्ण सहमति तथा छलफल भएको संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिए ।
डाँगीका अनुसार भेटका क्रममा संघले विशेषगरी नेपाली श्रमिकलाई युएई लैजाँदा आवश्यक पर्ने पीसीसी प्रमाणीकरणको प्रक्रिया सहज बनाउन आग्रह गरिएको थियो ।
संघले पीसीसी प्रमाणीकरण नै नगरी नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न माग गरेको थियो । तर, उक्त प्रक्रिया युएईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित रहेकाले पूर्णरूपमा हटाउन सम्भव नभए पनि शुल्क र प्रक्रियागत समय घटाउने विषयमा युएई पक्ष सकारात्मक देखिएको महासचिव डाँगीले बताए ।
उनका अनुसार अक्टोबर २०२६ देखि युएई जाने नेपाली श्रमिकको पीसीसी प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । साथै, हाल लाग्दै आएको प्रक्रियागत समय घटाएर तीन दिनभित्र पीसीसी प्रमाणीकरण सम्पन्न गर्ने व्यवस्था मिलाइएको जानकारी युएईका राजदूतले दिएको डाँगीले बताए ।
त्यस्तै, निकट भविष्यमा नेपालबाट भ्रमण तथा व्यावसायिक भिसामा युएई जाने नेपाली नागरिकका लागि समेत पीसीसी प्रमाणीकरण गर्न नपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता राजदूतबाट व्यक्त भएको महासचिव डाँगीले बताए ।
पोखरा र भैरहवाबाट युएई उडानमा जोड
भेटका क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग र युएईको हवाई सेवाका विषयमा समेत छलफल भएको छ ।
महासचिव डाँगीका अनुसार युएईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्न थालेको जानकारी राजदूतले दिएका छन् । त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट समेत नियमित उडान सञ्चालनका लागि आवश्यक पहल भइरहेको र छिट्टै नियमित उडान सुरु गर्ने प्रतिबद्धता व्यक्त भएको उनले बताए ।
पोखरा तथा भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार भएमा हवाई टिकट महँगो भएका कारण विगतमा भारत हुँदै गन्तव्य मुलुक जानुपर्ने बाध्यतामा रहेका नेपाली श्रमिकलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।
संघले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा यस क्षेत्रमा कार्यरत व्यवसायीलाई सम्भव भएसम्म नेपालकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी श्रमिक पठाउन आग्रह गरेको छ । महासचिव डाँगीले व्यवसायीहरूले भोग्दै आएका व्यावहारिक समस्याको समाधानका लागि संघले सम्बन्धित सरकारी निकाय तथा कूटनीतिक नियोगसँग निरन्तर समन्वय, सहकार्य र पहल गर्दै आएको बताए । उनका अनुसार वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सहज र श्रमिकमैत्री बनाउन संघले यस्ता विषयलाई निरन्तर प्राथमिकतामा राख्नेछ ।




प्रतिक्रिया