बझाङ । जयपृथ्वी नगरपालिका–१ स्थित मालिका हातेकागज उद्योग लामो समयदेखि बन्द रहेपछि उद्योगको विगतका गतिविधि र आर्थिक अवस्थाबारे निष्पक्ष छानबिन गर्नुपर्ने माग उठेको छ। उद्योग पुनः सञ्चालनका लागि पहल गर्न स्थानीयवासीले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
कुनै समय ६० देखि ६५ जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिएको बताइने उक्त उद्योग पछिल्लो ७–८ वर्षदेखि सञ्चालनमा छैन। लामो समयदेखि बन्द रहँदा उद्योगका भौतिक संरचना जीर्ण बन्दै गएको स्थानीयले बताए ।
उद्योग बन्द हुनुका कारण, तत्कालीन व्यवस्थापन, नेतृत्व तथा जनप्रतिनिधिबीचको विवाद र आर्थिक व्यवस्थापनलगायत विषयमा स्थानीयस्तरमा प्रश्न उठ्दै आएका छन्।
यही विषयमा उद्योगको विगतको आर्थिक तथा व्यवस्थापकीय अवस्थाबारे निष्पक्ष छानबिन समिति गठन गर्न, दोषी देखिए कानुनअनुसार कारबाही गर्न तथा सम्भाव्यता अध्ययन गरी उद्योग पुनः सञ्चालनका लागि पहल गर्न माग गर्दै स्थानीयवासी सुनील सिंहले उद्योग मन्त्रालय हुँदै गृह मन्त्रालयसम्म निवेदन दिएका थिए।

सिंहका अनुसार उनको निवेदनपछि उद्योग सचिवको सिफारिससहित गृह मन्त्रालयबाट सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई समेत पत्राचार भएको थियो। तर पत्राचार भएको लामो समय बितिसक्दा पनि छानबिन समिति गठन वा ठोस अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी आफूले नपाएको सिंहले बताए ।
यससँगै उद्योग सचिवको सिफारिस र गृह मन्त्रालयको पत्राचारपछि पनि मालिका हातेकागज उद्योगसम्बन्धी फाइल कहाँ पुग्यो र छानबिन प्रक्रिया किन अघि बढेन? भन्ने प्रश्नसमेत उठेको छ।
उद्योगको सम्पत्ति, लगानी, आम्दानी–खर्च, व्यवस्थापन तथा उद्योग बन्द हुनुका कारणबारे आधिकारिक अध्ययन र छानबिन भए वास्तविक अवस्था बाहिर आउने स्थानीयको अपेक्षा छ।
स्थानीयवासीले लामो समयदेखि बन्द रहेको उद्योगको विगतबारे निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न र सम्भाव्यता हेरेर पुनः सञ्चालनको पहल गर्न माग गरेका छन्।

सिंहले भने सत्यतथ्य छानबिन नभए आफू कुनै ढिलाइ नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने चेतावनी दिएका छन्।




प्रतिक्रिया